१७ चैत,काठमाडौं — एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटअन्तर्गत नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘एफ’ को यो अन्तिम खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। खेल न्यू लाओस नेशनल स्टेडियममा हुँदैछ।
दुवै टोली यसअघि नै छनोटबाट बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। त्यसैले नेपाल र लाओस दुवैले जित निकाल्दै छनोट यात्रा सुखद रूपमा टुंग्याउने लक्ष्य राखेका छन्।
नेपालका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि भने यो पहिलो आधिकारिक प्रतिस्पर्धा हो। उनले यस खेललाई टोलीको क्षमता मूल्यांकन गर्ने अवसरका रूपमा लिएका छन्। साथै, आफ्ना रणनीति परीक्षण गर्ने महत्वपूर्ण मौका पनि हुनेछ।
एरेनाले टोलीमा परिवर्तन गर्दै पाँच नयाँ खेलाडीलाई मौका दिएका छन्। टोलीमा पेम्बा दोर्जे लामा, मिलन राई, युवराज खड्का, रोमन भुजेल र योगेश धिमाल समावेश छन्।
यता, कीर्तिमानी गोलकर्ता अञ्जन विष्ट यसपटक टोलीमा नपर्नु ठूलो चर्चा बनेको छ। उनीसँगै एरिक विष्ट र लाकेन लिम्बू पनि बाहिरिएका छन्। टोलीको कप्तानी भने अनुभवी गोलरक्षक किरण चेम्जोङले सम्हाल्नेछन्।
हेड–टु–हेड तथ्यांक हेर्दा नेपाल लाओसभन्दा अघि देखिन्छ। हालसम्म भएका ६ भेटमा नेपालले ४ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। तर सन् २०२५ जुनमा भएको पछिल्लो भेटमा भने नेपाल २–१ ले पराजित भएको थियो।
फिफा वरीयतामा नेपाल १८२औँ स्थानमा छ भने लाओस १९०औँ स्थानमा रहेको छ।
दशरथ रंगशाला पूर्वाधार मापदण्ड नपुगेका कारण र अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक विवादका कारण नेपालले घरेलु मैदानमा खेल आयोजना गर्न नसकेको हो।

