काठमाडौं, चैत १८ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र बिहान ८ बजेदेखि सबै केन्द्रमा परीक्षा सञ्चालन हुनेछ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। यस वर्ष छात्राको संख्या छात्रभन्दा बढी रहेको छ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन गरिनेछ भने अन्तिम दिनहरूमा प्राविधिक धारका विषयहरू समावेश गरिएका छन्।
यस वर्ष परीक्षा केन्द्रमा अनावश्यक भीड नियन्त्रण गर्न सामूहिक अनुगमनमा रोक लगाइएको छ। अब जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिरी क्षेत्रबाट मात्र अनुगमन गर्ने व्यवस्था गरिएको छ। पत्रकारलाई पनि केन्द्र बाहिरबाट मात्र तस्बिर लिन अनुमति दिइएको छ।
सुरक्षाको दृष्टिले प्रत्येक परीक्षा केन्द्रमा आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ। साथै केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीको पनि पर्याप्त व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यस वर्षको विशेषता अनुसार उत्तरपुस्तिका परीक्षण पनि सम्बन्धित परीक्षा केन्द्रमै गरिनेछ। यसबाट नतिजा छिटो प्रकाशन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

