विश्वासको मत नपाउने देखिएपछि मधेशका मुख्यमन्त्री यादव राजीनामा दिन तयारी, बैठक २ बजेसम्म स्थगित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

१७ मंसिर, जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त नहुने परिस्थिति स्पष्ट बन्दै गएपछि राजीनामा दिने तयारी गरेका छन्। प्रदेश सभा बैठकमा धारणा राखेर नै राजीनामा घोषणा गर्ने उनको तयारी रहेको स्रोतले बताएको छ।

विश्वासको मत लिनका लागि बुधबार बिहान साढे ८ बजे प्रदेश सभा बैठक बोलाइए पनि प्रधानमन्त्री यादव तथा एमालेका केही सांसदहरू अनुपस्थित हुँदा बैठक सुरु नै हुन सकेन। अन्ततः उपसभामुख बबिता कुमारी राउत ईशरले बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरिन्।

विश्वासको मत पाउन नसक्ने अवस्था

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको निरन्तरताका लागि ५४ मत आवश्यक छ। तर एमालेसँग सभामुखसहित २५ मत मात्र छन्, जसमा एक सांसद निलम्बित छन्। साथमा नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक मत भए पनि राप्रपाकी कञ्चन बिच्छाको सांसद पदकै विषयमा विवाद छ।

यता कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोस्पा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेको सात दलको गठबन्धनसँग ७३ मत छन्, जसले सरकारविरुद्ध स्पष्ट बहुमत सुनिश्चित गरेको छ।

सर्वोच्चको आदेशपछि दबाब बढ्यो

यसअघि गठबन्धनका नेता जितेन्द्र सोनलले असोज २९ मा मुख्यमन्त्री बने पनि विश्वासको मत नपाउने भएपछि कात्तिक २२ मा राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(३) अनुसार एमालेका नेता सरोज यादवलाई कात्तिक २४ गते बिहानै बर्दिबासको होटलमा शपथ गराएको घटना विवादित बनेको थियो।

उही प्रकरणमा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन १५ मंसिरमा परमादेश दिएको थियो।

सबैला–सहयोगी दलहरू समयमै उपस्थित, मुख्यमन्त्री भने भेटिएनन्

आज बिहान ८:३० बजे नै विपक्षी दलका सांसदहरू प्रदेश सभा भवनमा भेला भए। तर मुख्यमन्त्री यादव भने साढे १० बजेसम्म पनि उपस्थित भएनन्।
यादवले विश्वासको मत दिउँसो २ बजे नै लिने अडान राख्दै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए। तर सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिले बिहान ८:३० बजेको समय नै तोकेको थियो।

मुख्यमन्त्रीले उपसभामुखले विपक्षी दलको उक्साहटमा आफूले मागेको समय बेवास्ता गरेर बैठक चाँडो राखेको आरोपसमेत लगाएका छन्।

अब ध्यान २ बजेको बैठकतर्फ

मुख्यमन्त्रीको अडानलाई मध्यनजर गर्दै प्रदेश सभा बैठक अन्ततः दिउँसो २ बजेदेखि सञ्चालन हुनेगरी सारिएको छ।
त्यतिबेला यादवले विश्वासको मत माग्ने कि प्रत्यक्ष राजीनामा घोषणा गर्ने भन्ने उत्सुकता प्रदेशसभामा बढेको छ।

Leave a comment