फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै टोलीको टुंगो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, चैत १९ — आगामी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ, जसमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्।

विश्वकप छनोट प्रक्रिया सन् २०२३ को सेप्टेम्बरबाट सुरु भई करिब डेढ वर्षसम्म चलेको थियो। विश्वका विभिन्न ६ वटा फुटबल महासंघबाट टोलीहरू छनोट भएका हुन्। अन्तिम चरणको अन्तरमहादेशीय प्लेअफबाट डीआर कंगो र इराकले विश्वकपमा स्थान सुरक्षित गरेका छन्।

यसपटक युरोपमा केही अप्रत्याशित नतिजा देखिएका छन्। चार पटकको च्याम्पियन इटली छनोट हुन असफल हुँदा बोस्निया–हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिकले स्थान बनाएका छन्। एसियाबाट भने हालसम्मकै धेरै ८ टोली छनोट भएका छन्, जसमा अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान रहेका छन्।

उत्तर तथा मध्य अमेरिकाबाट कुरासाओ, हैटी र पनामा छनोट भएका छन् भने ओसियानियाबाट न्यूजिल्यान्ड सहभागी हुनेछ। दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वेले स्थान बनाएका छन्। अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया सहभागी हुनेछन्।

युरोपबाट अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन र स्वीट्जरल्यान्ड पनि छनोट भइसकेका छन्।

प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ। यसपटक १२ समूहमा विभाजन गरिनेछ, प्रत्येक समूहमा ४ टोली रहनेछन्। समूह चरणबाट शीर्ष २ टोली र उत्कृष्ट ८ तेस्रो स्थानका टोलीसहित कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

यस संस्करणमा कुल १०४ खेल हुनेछन्। खेलहरू अमेरिका, क्यानडा र मेक्सिकोका गरी १६ सहरमा आयोजना हुनेछन्। उद्घाटन खेल मेक्सिको सिटीको अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल जुलाई १९ मा न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ।


 

Leave a Comment