एक जनाको उपचार जारी, अवस्था खतरामुक्त
२१ चैत, काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन्।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार सबै घाइतेसँग सम्पर्क गरी उनीहरूको अवस्थाबारे जानकारी लिइएको छ। हाल एक जना नेपाली उपचारमै रहेका छन् तर उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै दूतावासले चासो दिँदै घाइतेहरूको अवस्थाबारे बुझिरहेको जनाएको छ।
शुक्रबार इरानबाट प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गर्दा त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए।
यस घटनामा ७ नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक रहेका छन्।

