बाल श्रम र हिंसा आरोपमा लुम्बिनीकी सांसद पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १६ चैत २०८२ – नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मा नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा पक्राउ परेकी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

शर्मामाथि करिब ६ वर्षदेखि एक बालिकालाई घरमा कामदारका रूपमा राखी श्रमशोषण र कुटपिट गरेको आरोप छ। पीडित बालिकाले आफूमाथि पटक–पटक हिंसा हुने गरेको बताएकी थिइन्। अवस्था कमजोर देखिएपछि काठमाडौँ महानगरपालिकाले उनलाई उद्धार गरेको थियो।

यो घटना डेढ वर्षअघि नै सार्वजनिक भएको भए पनि त्यतिबेला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णयको आलोचना भएपछि राष्ट्रिय मानव अधिकार आयोगले समेत सम्बन्धित फाइल झिकाएर अध्ययन गरेको थियो।

त्यस समय काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पीडितलाई न्याय हुने विश्वास व्यक्त गरेका थिए।

उक्त घटनाक्रम सार्वजनिक हुँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए र सत्ताको प्रभावमा निर्णय भएको भन्दै व्यापक आलोचना भएको थियो।

 

Leave a Comment