काठमाडौं, चैत २२ – ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरिएको हो।
गुण्डागर्दीसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका गुरुङलाई यसपटक पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार उनीमाथि विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
यसअघि २०८० साल असारमा ठमेलस्थित एक क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। त्यतिबेला प्रहरीले उनलाई हत्कडीसहित सार्वजनिक रूपमा घुमाएको थियो।
उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसपछि पनि उनी कुटपिट र असुली जस्ता घटनामा संलग्न हुँदै आएको प्रहरीको भनाइ छ।
प्रहरी अभिलेखअनुसार गुरुङ कुनै समय चर्चित गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए। २०७२ भदौ ३ गते प्रहरी मुठभेडमा घैंटे मारिएपछि गुरुङले सुरक्षा सावधानी अपनाउँदै हिँड्ने गरेको बताइन्छ।
हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






