काठमाडौँ, कात्तिक १६ – प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र समन्वयका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आइतबार बालुवाटारमा विशेष बैठक गरेकी छिन्। बैठकमा मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण अझ पूर्ण रूपमा तयार नभएको भन्दै संघीय सरकारसँग सहयोगको प्रतिबद्धता जनाएका छन्।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार छलफल अत्यन्तै सकारात्मक र उपलब्धीमूलक भएको थियो। मुख्यमन्त्रीहरूले शान्ति–सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचनका लागि आवश्यक तयारीबारे प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ दिएका थिए।
मन्त्री खरेलले भने, “प्रदेश सरकारहरूले कानुनी र वित्तीय अल्झनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। ती समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक देखिएकी छन्।”
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले संघीय सरकारले संघीयताको मर्मअनुसार समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण निर्माण अझै हुन बाँकी रहेको बताए।
त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ति–सुव्यवस्था कायम नभएसम्म निष्पक्ष निर्वाचन सम्भव नहुने बताउँदै प्रधानमन्त्रीलाई सुरक्षाको अनुभूति बढाउन आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्की संघीयता र निर्वाचनप्रति अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै समन्वय गरेर अघि बढ्ने सहमति भएको बताए।
प्रधानमन्त्री कार्कीले सबै तहका सरकारहरू मिलेर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै मुख्यमन्त्रीहरूलाई आवश्यक सहयोगको प्रतिवद्धता जनाएकी छन्। यसअघि सरकारले राजनीतिक दल र नागरिक समाजसँग पनि आगामी निर्वाचन तयारीबारे छलफल गरिसकेको छ।



Leave a Reply