काठमाडौं, २३ चैत – अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले यस्तो व्यवस्था लागू गरेको हो।
विभागका अनुसार विभिन्न निकायसँग समन्वय गरी हुलाकमार्फत हुने आयात–निर्यात प्रक्रियालाई सहज बनाउन ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रणाली लागू गरिएको छ। यसले विदेशबाट आउने तथा विदेश पठाइने सामानको जाँचपास छिटो, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
यो प्रणाली हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीचको सहकार्यमा कार्यान्वयनमा ल्याइएको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो समयदेखि गरिएको प्रयासपछि मन्त्रालयको निर्देशनमा सेवा सुधार गरिएको हो।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै जाँचपास प्रणाली स्थापना गरिनेछ। साथै सार्वजनिक बिदाका दिन पनि विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा नियमित रूपमा सञ्चालन हुनेछ।
यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुला भए पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन। अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो।
विभागका अनुसार गत फागुन महिनामा मात्र डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत १९ हजार दुई सयभन्दा बढी विभिन्न वस्तु आयात भएका छन् भने करिब ११ हजार सात सय वस्तु निर्यात भएका छन्। पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।

