सरकारद्वारा निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालनको तयारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३० कात्तिक २०८२ ,काठमाडौ

आगामी निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ। आइतवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा रणनीति अन्तिम रूप दिएको हो। बैठकको अध्यक्षता गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका थिए।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले निर्वाचनको संवेदनशीलता र सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना परिचालन गर्ने तयारी अघि बढाएको छ। यसका लागि रक्षा मन्त्रालयलाई आधिकारिक पत्र लेख्ने निर्णय भएको छ।

प्रवक्ता काफ्लेले बैठकपछि भने,
“एकीकृत सुरक्षा योजनामाथि विस्तृत छलफल भयो र यसलाई स्वीकृत गरिएको छ। साथै, निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्न सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।”

यसअघि गत असोज ९ गते बसेको समितिको बैठकले एकीकृत सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले तयार पारेको योजनालाई आजको बैठकले अन्तिम रुपमा पारित गरेको हो।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका वरिष्ठ अधिकारीहरू सहभागी थिए।

सरकारले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै संवेदनशील क्षेत्रको पहिचान, तीनवटै सुरक्षा निकायबीच समन्वय, संयुक्त गस्ती, सूचना आदान–प्रदान र आकस्मिक प्रतिक्रिया क्षमतालाई अझ सुदृढ बनाउने निर्णय गरेको बताएको छ।

Leave a comment