आइतबार बिदा र सत्र ढिलाइपछि पाठ्यक्रम मिलाउने तयारीमा सीडीसी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

 २६ चैत २०८२, बिहीबार, काठमाडौं-सरकारले नयाँ शैक्षिक सत्र १५ दिनपछि सार्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले पाठ्यक्रम समायोजन गर्ने तयारी थालेको छ।

केन्द्रले ‘क्रेडिट आवर’ प्रभावित नहुने गरी पाठ्यक्रम मिलाउने योजना बनाइरहेको जनाएको छ। निर्देशक पुरुषोत्तम घिमिरेका अनुसार अहिले विभिन्न विकल्पहरूमा छलफल भइरहेको छ र केही दिनमै निर्णय सार्वजनिक गरिनेछ।

यसअघि २०७७ सालमा कोरोना संक्रमणका कारण प्रभावित भएको पाठ्यक्रम पनि समायोजन गरिएको अनुभवका आधारमा यसपटक पनि सोही प्रकारको उपाय अपनाउने तयारी गरिएको हो।

शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र आइतबार बिदा दिने निर्णयपछि शैक्षिक क्यालेन्डर प्रभावित नहोस् भन्ने उद्देश्यले शिक्षा मन्त्रालयले समेत कार्ययोजना बनाउन थालेको छ।

यसैबीच, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियानबारे पनि छलफल गरिरहेको छ। केन्द्रका अनुसार कहिलेदेखि भर्ना अभियान सुरु गर्ने र विद्यालय बाहिर रहेका विद्यार्थीलाई कसरी विद्यालयमा ल्याउने भन्ने विषयमा निर्णय चाँडै गरिनेछ।

प्रत्येक वर्ष वैशाख २ गतेदेखि सञ्चालन हुँदै आएको भर्ना अभियान यसपटक शैक्षिक सत्र ढिलाइका कारण प्रभावित भएको छ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा आएको समस्या समाधानका लागि शैक्षिक सत्र सार्ने र आइतबार बिदा दिने निर्णय गरेको हो।

Leave a Comment