२७ चैत २०८२, शुक्रबार,काठमाडौं-नेपाल चिकित्सक संघले हालको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाको दिन ओपीडी सेवा उपलब्ध गराउन कठिन भएको जनाएका हुन्।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेपछि स्वास्थ्य संस्थामा सोही अनुसार बिदा व्यवस्थापन गरिएको थियो। तर, बिरामीलाई असुविधा नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।
यस विषयमा संघले ध्यानाकर्षण जनाउँदै आवश्यक जनशक्ति थप नगरी यस्तो निर्देशन कार्यान्वयन गर्न नसकिने बताएको छ।
संघका अनुसार वैज्ञानिक ढंगले जनशक्ति व्यवस्थापन नगरेसम्म सेवा सञ्चालन गर्दा स्वास्थ्य सेवाको गुणस्तरमा असर पर्न सक्ने जोखिम रहेको छ।






