पाँचथर, चैत २९, २०८२ (आइतबार)-युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाएर रिहा गरिएको हो।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।
उनी पक्राउ परेसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले प्रधानमन्त्री बालेन्द्र शाहका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू सेयर गर्दै आलोचना गरेका छन्।

