२८ चैत २०८२, शनिबार-पूर्वी अफगानिस्तानको परवान प्रान्तमा घरको छत खस्दा एकै परिवारका आठ जनाको ज्यान गएको छ। घटनामा एक जना घाइते भएका छन्।
प्रान्तीय प्रहरीका अनुसार भारी वर्षाका कारण घरको संरचना कमजोर भई छत खसेपछि दुर्घटना भएको हो। स्यागिरड जिल्लामा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।
यसअघि पनि काबुलको बागरामी क्षेत्रमा यस्तै प्रकारको दुर्घटना भएको थियो, जहाँ एउटै परिवारका आठ जनाको मृत्यु हुनुका साथै एक बालक घाइते भएका थिए।
अफगानिस्तानमा पछिल्ला दुई हप्तामा आएको बाढी र वर्षाजन्य विपद्का कारण ठूलो मानवीय क्षति भएको छ। हालसम्म १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी मानिस घाइते भएका बताइएको छ।

