आयुर्वेद चिकित्सक संघको चेतावनी: आइतबार सेवा दिन नसकिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २८ चैत । नेपाल आयुर्वेद चिकित्सक संघले जनशक्ति अभावका कारण आइतबार सार्वजनिक बिदाका दिन सेवा सञ्चालन गर्न नसकिने जनाएको छ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सबै स्वास्थ्य सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ। यसअघि पनि चिकित्सक संघले सातामा दुई दिन बिदा लागू गर्ने सरकारी निर्णयपछि आइतबार सेवा सञ्चालन कठिन हुने जनाएको थियो।

संघका अध्यक्ष डा. शंकर गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा श्रम ऐन र मानव अधिकारले सुनिश्चित गरेका श्रम अधिकारको सरकारले बेवास्ता गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा मन्त्रालयको निर्देशनलाई “संवेदनहीन” भन्दै पुनर्विचार गर्न आग्रह गरिएको छ।

संघका अनुसार आयुर्वेद स्वास्थ्य संस्थामा पहिले नै जनशक्ति अभाव रहेको छ। यस्तो अवस्थामा बिदा कटौती गर्दा सेवा प्रवाहमा असर पर्ने र चिकित्सकको कार्यक्षमता पनि घट्ने उनीहरूको भनाइ छ।

विज्ञप्तिमा एक मात्र चिकित्सक रहेको अवस्थामा समेत सेवा प्रभावित हुने उल्लेख गर्दै थप बिदा कटौती वा सट्टा बिदा दिन नसकिने अवस्था रहेको जनाइएको छ।

संघले यस निर्णयले नकारात्मक असर पार्ने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ। साथै आयुर्वेद स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै चार बुँदे माग पनि अघि सारेको छ।

Leave a Comment