काठमाडौं, १९ माघ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीलाई राजनीतिक प्रभाव र दबाबबाट पूर्ण रूपमा मुक्त रहेर काम गर्न स्पष्ट निर्देशन दिएकी छन्।
सोमबार काठमाडौंमा सम्पन्न नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनको विश्वसनीयता कायम राख्ने मुख्य जिम्मेवारी सुरक्षा निकायको काँधमा रहेको बताइन्। उनले प्रहरीको निष्पक्ष व्यवहारले मात्र नागरिकमा लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास बढ्ने उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक यात्राको महत्वपूर्ण परीक्षा भन्दै यसलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन प्रहरी संगठन चनाखो, संयमित र उत्तरदायी हुनुपर्ने बताइन्।
उनले पछिल्लो समय परम्परागत अपराधभन्दा बाहिर साइबर अपराध, संगठित तथा वित्तीय अपराधजस्ता जटिल चुनौती बढ्दै गएको उल्लेख गर्दै नयाँ पुस्ताका प्रहरी अधिकृतहरू केवल आदेश पालक नभई समस्या पहिचान गर्ने र समाधान खोज्ने नेतृत्वदायी भूमिकामा उभिनुपर्नेमा जोड दिइन्।
प्रहरी र समुदायबीचको सम्बन्ध नै सुरक्षाको आधार भएको बताउँदै उनले जनविश्वास जोगाउनु नै प्रहरीको सबैभन्दा ठूलो जिम्मेवारी भएको धारणा राखिन्।

