सरकारविरुद्ध आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई मानवअधिकार आयोगमा बोलाइयो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १२ —
सरकारविरुद्ध सडकमा आन्दोलन गर्दै काठमाडौं ठप्प पार्ने चेतावनी दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राष्ट्रिय मानवअधिकार आयोगले छलफलका लागि बोलाएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरले विशेष वार्ताका लागि आज बिहान ११ बजेका लागि प्रसाईंलाई आयोगमा उपस्थित हुन खबर गरेका छन्। प्रसाईंको पक्षबाट आयोगमा बोलावटको जानकारी सार्वजनिक गरिएको छ।

यससँगै सामाजिक सञ्जालमार्फत मिडियाकर्मीहरूलाई पुल्चोकस्थित आयोगको कार्यालयमा भेला हुन समेत आह्वान गरिएको छ।

प्रसाईंले व्यवस्थाविरोधी प्रदर्शनको नाममा गत चैत १५ गते तीनकुनेमा बितण्डा मच्चाएका थिए। उनका पछिल्ला सार्वजनिक अभिव्यक्ति र गतिविधिप्रति सुरक्षा निकाय झन् सतर्क र गम्भीर बनेका छन्।

यसअघि काठमाडौ‌ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले कात्तिक ८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छलफल गरेका थिए। सो बैठकमा प्रसाईंको गतिविधि र सम्भावित सुरक्षात्मक चुनौतीबारे समीक्षा गरिएको थियो।

यस्तै विषयमा असोज ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको थियो। उक्त छलफलमा प्रसाईंलाई पहिले बोलाएर सम्झाईबुझाइ गर्ने र त्यसपछि पनि अराजक गतिविधि नरोके कानुनअनुसार कारबाही गर्ने निष्कर्ष निकालिएको थियो।

Leave a comment