काठमाडौं, २० चैत । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ ।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई बधाई दिने निर्णय गरेको हो । बैठकले भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल भएकोमा प्रधानमन्त्री शाह र उनको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको जनाएको छ ।
यसअघि एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे पार्टीभित्र र बाहिरबाट आलोचना भएको थियो । उनले आफ्नो सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको आरोप लगाएका थिए ।
उक्त विषयमा पनि एमाले बैठकमा छलफल भएको जनाइएको छ ।

