काठमाडौं, वैशाख १४ — उपत्यकाभित्रका अतिक्रमित बस्ती हटाउने सरकारी अभियान आज पनि जारी राखिएको छ। विशेषगरी मनोहरा नदी किनार क्षेत्रमा बाँकी रहेका संरचना हटाउन सोमबार बिहानैदेखि डोजर परिचालन गरिएको हो।
गत शनिबार र आइतबार काठमाडौं तथा भक्तपुरका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानअन्तर्गत ठूलो संख्यामा घरटहरा भत्काइएका थिए। वर्षाका कारण केही समय रोकिएको काम पुनः सुरु गर्दै सरकारले आज बाँकी संरचना हटाउन ध्यान केन्द्रित गरेको जनाएको छ।
प्रहरीका अनुसार दुई दिनको अवधिमा चार स्थानमा गरी एक हजार २७२ वटा अवैध संरचना हटाइसकिएको छ। तीमध्ये थापाथली, गैरीगाउँ–बानेश्वर, जडिबुटी र भक्तपुरको मनोहरा क्षेत्र प्रमुख छन्। समग्रमा यी स्थानमा एक हजार ६५० घरटहरा रहेको तथ्यांक छ, जसमा अझै केही संरचना हटाउन बाँकी छन्।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार गैरीगाउँ–सिनामंगल क्षेत्रमा १५ वटा पक्की घर र मनोहरा क्षेत्रमा ३६५ घरटहरा अझै हटाउन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले अभियान अघि बढाइरहेको छ।
उजाडिएका बासिन्दाको व्यवस्थापनतर्फ सरकारले अस्थायी रूपमा होटल तथा लजमा बसोबास र खानपानको व्यवस्था मिलाएको जनाएको छ। साथै, विस्थापित बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर कम गर्न काठमाडौं महानगरपालिकाले खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
सरकारले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ।
मनोहरा किनारमा बाँकी ३६५ घरटहरा हटाइँदै, सरकारको अभियान निरन्तर
Leave a Comment
Leave a Comment

