अब १५ दिनमै तलब: सरकारले सुरु गर्‍यो अर्धमासिक भुक्तानी प्रणाली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : सरकारले सरकारी कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलब दिने व्यवस्था सुरु गरेको छ। पाइलट परियोजनाका रूपमा यो प्रणाली बुधबारदेखि कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालय ले जनाएको छ।
एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले अर्धमासिक तलब भुक्तानी प्रणालीको औपचारिक सुरुआत गरेका हुन्। कम्प्युटराइज्ड गभर्मेन्ट अकाउन्ट सिस्टम (सिगास) मार्फत महालेखा नियन्त्रक कार्यालयबाट कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई पहिलो चरणको तलब वितरण गरिएको हो।
यससँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरेका छन्। सरकारले यो व्यवस्था प्रारम्भमा संघीय निजामती सेवामा परीक्षणका रूपमा लागू गरेको हो।
अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने व्यवस्थाले बजारमा नगद प्रवाह बढाउने र उपभोग तथा मागमा वृद्धि हुने विश्वास व्यक्त गरे। उनले भने, “यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ।”
त्यस्तै, शोभाकान्त पौडेल ले आगामी दिनमा प्रदेश र अन्य सरकारी सेवामा समेत यो प्रणाली विस्तार गरिने बताए। उनका अनुसार प्राविधिक रूपमा अब कर्मचारीले १५ दिन वा एक महिनामध्ये आफूअनुकूल समयमा तलब पाउने व्यवस्था सम्भव भइसकेको छ।
गत वैशाख ४ गते अर्थ मन्त्रालयले यस्तो व्यवस्था पाइलट परियोजनाका रूपमा सुरु गर्ने निर्णय गरेको थियो।

Leave a Comment