पहाडमा वर्षा र हिमपात बढ्ने संकेत, तराईमा चट्याङसहित पानी पर्ने सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायु सक्रिय हुँदा मौसममा बदली बढेको छ। पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मधेश, बागमती, गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली देखिएको छ। केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, तराईका केही स्थानमा हल्का वर्षासँगै चट्याङ पर्ने सम्भावना रहेको जनाइएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहनेछ। पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा वर्षा र हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्ले चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave a Comment