च्याटजिपिटीको स्क्रिनसटसहित उपसभामुख ठाकुरको बचाउ, प्रधानन्यायाधीश सिफारिसमा बहस चर्कियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : प्रधानन्यायाधीश नियुक्तिका विषयमा राजनीतिक तथा कानुनी वृत्तमा बहस भइरहेका बेला उपसभामुख रुबीकुमारी ठाकुर ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयमा समर्थन र विरोध भइरहेका बेला ठाकुरले च्याटजिपिटीको सहयोग लिएर टिप्पणी गरेकी हुन्।
संवैधानिक परिषद्की सदस्यसमेत रहेकी ठाकुरले न्याय प्रणालीप्रति जनताको असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै छिटो र प्रभावकारी न्याय सम्पादन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएकी छन्। उनले लामो समयसम्म मुद्दा किनारा नलाग्ने अवस्थाले न्यायपालिकामाथिको विश्वास कमजोर बनाएको टिप्पणी गरेकी छन्।
उनले नियुक्ति क्षमता, कार्यसम्पादन र योग्यताका आधारमा हुनुपर्ने धारणा राख्दै राजनीतिक प्रभावका आधारमा हुने नियुक्तिले न्याय प्रणालीमा नकारात्मक असर पर्ने उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमार्फत ठाकुरले “संविधान, कानुन र जनहित सर्वोपरि हुनुपर्छ” भन्ने धारणा व्यक्त गरेकी छन्। उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै समर्थन गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन्।
उक्त पोस्टमा उनले ChatGPT बाट प्राप्त जवाफको स्क्रिनसटसमेत राखेपछि सामाजिक सञ्जालमा थप चर्चा सुरु भएको छ।

Leave a Comment