सिरहा कारागारमा चर्कियो तनाव, नाइकेसहित १३ कैदी नियन्त्रणमा पानीको फोहरा प्रयोग, १५० सुरक्षाकर्मी परिचालन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सिरहा, २६ माघ २०८२ (सोमबार)
सिरहा कारागारमा सोमबार साँझदेखि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारका नाइके इन्द्रजित यादवलाई गोली र ठूलो परिमाणको नगदसहित पक्राउ गरी बाहिर निकालिएपछि कैदीहरूले उग्र प्रदर्शन थालेका हुन् ।

नियन्त्रणमा परेका नाइके यादवसहित १३ जना कैदीलाई प्रहरीले कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखेपछि स्थिति झन् तनावग्रस्त बनेको हो । आक्रोशित कैदीहरू कारागारको छतमाथि चढेर थाली बजाउँदै नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर र एसपी मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले पानीको फोहरा प्रयोग गरेका छन् । तर, कैदीहरूको होहल्ला अझै जारी रहेको प्रशासनले जनाएको छ । सम्भावित अप्रिय घटना रोक्न कारागारभित्र र बाहिर गरी करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने थप सुरक्षा टोली पनि परिचालन हुँदैछ ।

जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।

प्रशासनका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन सञ्चालन गरिएको थियो । सोही क्रममा नाइके यादवको कोठाबाट हतियार, गोली र नगद फेला परेको हो ।

नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको प्रशासनले जनाएको छ । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालिएको थियो ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा कडाइ गरिएको प्रशासनको भनाइ छ ।

Leave a Comment