एसईई नतिजामा उल्लेख्य सुधार, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ। बोर्डका अनुसार यसपटक ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए।
सोमबार परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा सचिव चुडामणि पौडेलले यस वर्षको नतिजा उत्साहजनक रहेको बताए। बोर्डका अनुसार यसपटक कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन्। गत वर्ष नन–ग्रेडेड हुने विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ थियो।
यस वर्ष उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेख्य देखिएको छ। ३.६० देखि ४.०० जीपीए ल्याउने ४८ हजार ३९२ विद्यार्थी रहेका छन्। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२ विद्यार्थी छन्। २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ तथा २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० विद्यार्थी रहेका छन्। १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या भने ७ मात्रै रहेको बोर्डले जनाएको छ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए। परीक्षा देशभरका १ हजार ९६६ केन्द्रमा सञ्चालन गरिएको थियो।
बोर्डका अनुसार यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो। जापानस्थित एभरेस्ट स्कुलका २३ जना विद्यार्थीले समेत यस वर्ष एसईई परीक्षा दिएका थिए।

Leave a Comment