बेइजिङमा आज ट्रम्प–सी वार्ता, व्यापारदेखि ताइवानसम्मका मुद्दामा केन्द्रित हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। विश्व राजनीति र अर्थतन्त्रलाई प्रभाव पार्ने अपेक्षा गरिएको यो भेट ‘द ग्रेट हल अफ द पिपुल’ मा आयोजना हुँदैछ।
दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो। अमेरिका–चीन सम्बन्ध पछिल्लो समय व्यापार, प्रविधि र सुरक्षा मुद्दामा तनावपूर्ण बन्दै गइरहेका बेला दुई नेताबीचको भेटलाई चासोका साथ हेरिएको छ।
अमेरिकाले चिनियाँ वस्तुमाथि भन्सार दर बढाएपछि दुई देशबीच व्यापारिक दूरी बढेको थियो। अब वाशिङ्टनले व्यापारिक सम्बन्ध सुधारका लागि नयाँ संरचनात्मक सहकार्य प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ। यसअघि दक्षिण कोरियाको बुसानमा भएको छलफलपछि केही भन्सार शुल्क घटाइएको थियो।
भेटवार्तामा ताइवानको विषय प्रमुख एजेन्डा बन्ने अनुमान गरिएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने अमेरिकाले ताइवानसँग सुरक्षा सहकार्य जारी राखेको छ। यही विषयलाई लिएर दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ।
त्यस्तै, मध्यपूर्वको तनाव र इरान युद्धबारे पनि छलफल हुने जनाइएको छ। चीनले इरानमाथिको आक्रमणको विरोध गर्दै आएको छ भने अमेरिका प्रत्यक्ष रूपमा युद्ध रणनीतिमा संलग्न रहेको बताइन्छ।
ट्रम्पको भ्रमण टोलीमा एलन मस्क, टिम कुक र ल्यारी फिङ्क लगायत अमेरिकी उद्योग जगत्का प्रभावशाली व्यक्तिहरू सहभागी छन्। अमेरिका चीनसँग दुर्लभ खनिज धातुमा पहुँच कायम राख्न चाहन्छ भने चीनले उच्च प्रविधि र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगाइएका प्रतिबन्ध खुकुलो बनाउन दबाब दिने तयारी गरेको छ।
यसैबीच चीनले अमेरिकी कम्पनी Boeing का सयौं विमान खरिद गर्न सक्ने र अमेरिकी कृषि उत्पादन आयात बढाउन सक्ने चर्चा पनि चलिरहेको छ। साथै चिनियाँ विद्युतीय सवारी निर्माता BYD लाई अमेरिकी बजारमा प्रवेश दिने विषयमा समेत कुराकानी हुन सक्ने बताइएको छ।

Leave a Comment