चिनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि दुवै देशले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ विश्व व्यवस्था निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त विज्ञप्तिमा चीन र रुसले समानता, सन्तुलन र बहुध्रुवीय अन्तर्राष्ट्रिय संरचनामा आधारित विश्व व्यवस्थाको पक्षमा आवाज उठाएका छन्। उनीहरूले कुनै एक शक्ति केन्द्रको प्रभुत्वभन्दा धेरै देशको सहभागिता रहने विश्व प्रणाली आवश्यक रहेको उल्लेख गरेका छन्।
दुवै देशले अन्तर्राष्ट्रिय समुदायलाई साझा हितका आधारमा सहकार्य गर्न, सबै राष्ट्रको सुरक्षालाई समान महत्व दिन तथा विश्व राजनीतिमा विविध संस्कृति र विचारको सम्मान गर्न आग्रह गरेका छन्। उनीहरूले न्यायपूर्ण र निष्पक्ष विश्व शासन प्रणाली निर्माणका लागि संयुक्त रूपमा काम गरिरहने पनि बताएका छन्।
शिखर वार्ताका क्रममा चीन र रुसबीच व्यापार, प्रविधि र आर्थिक सहकार्यसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको छ। चीनका राष्ट्रपति सी चिनफिङले विश्व शासन प्रणालीलाई अझ न्यायपूर्ण र व्यवहारिक बनाउने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन–रुस सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको दाबी गर्दै दुवै देशबीचको रणनीतिक सहकार्य अझ सुदृढ हुँदै गएको बताएका छन्।
पुटिन मंगलबार राति चीन भ्रमणका लागि बेइजिङ पुगेका थिए। बुधबार भएको शिखर वार्तापछि दुवै नेताले संयुक्त रूपमा विश्व राजनीतिक र आर्थिक संरचनामा सुधार आवश्यक रहेको सन्देश दिएका हुन्।
बहुध्रुवीय विश्व व्यवस्थाका लागि चीन–रुसको संयुक्त आह्वान
Leave a Comment
Leave a Comment






