काठमाडौं, चैत २२ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानमा भीषण आक्रमण भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले उक्त आक्रमणमा इरानी सेनाका कयौँ उच्च तहका अधिकारी मारिएको बताएका हुन्।
तर उक्त भिडियोको आधिकारिकता र समयबारे कुनै पुष्टि भएको छैन। इरान सरकारले पनि यसबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न दिएको समयसीमा सकिन लागेको उल्लेख गर्दै ४८ घण्टाभित्र ठूलो कदम चालिने चेतावनी दिएका छन्।
उनको चेतावनीप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानको खातम अल अनबिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी आक्रमण भएमा अमेरिकी र इजरायली सैन्य संरचनामाथि निरन्तर आक्रमण गर्ने बताएका छन्।
उनले यस्तो अवस्था आए अमेरिकी सेनाका लागि गम्भीर परिणाम आउने चेतावनी दिएका छन्। साथै, हेडक्वार्टरका प्रवक्ताले पनि इरानलाई कमजोर ठाने क्षेत्र नै अमेरिकाका लागि जटिल बन्ने बताएका छन्।

