ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसला
१ मंसिर, काठमाडौं ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
ढाकामा बसेको अदालतले ४५३ पृष्ठको विस्तृत फैसलामार्फत गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धका गम्भीर अपराधमा संलग्न रहेको ठहर गर्दै हसिनालाई मृत्युदण्ड सुनाएको हो। भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा चलाइएको थियो।
अभियोजन पक्षले गत जुनमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसमध्ये तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाइ पनि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। त्यस्तै, घटनाका सरकारी साक्षी बनेका तत्कालीन प्रहरी प्रमुख अल ममुनलाई पाँच वर्षको कैद सजाय तोकिएको छ।
फैसला सुनाउँदै न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले फैसला छ चरणमा सार्वजनिक गरिने जानकारी दिए। अदालतले हसिना र पूर्व गृहमन्त्री कमालविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ।
गत वर्षको आन्दोलनकै क्रममा शेख हसिना सत्ताच्युत भएकी थिइन्। उनी २०२४ अगस्टमा देश छाडेर भारतमा निर्वासनमा बसेकी छन्। सरकारी टेलिभिजन बंगलादेश टेलिभिजन (बीटीभी) ले अदालतको यो फैसला सार्वजनिक गरेको छ।



Leave a Reply