काठमाडौं, २२ माघ — नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने र सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्।
बिहीबार बिहान आयोजित नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै उनले जनताबाट अस्वीकृत भइसकेका शक्तिहरूसँग सहकार्य नहुने स्पष्ट पारे। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले “हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं” भन्ने धारणा स्पष्ट रूपमा राखेका थिए।
प्रचण्डले अन्य दलका नेता–कार्यकर्ताबाट आफ्नो पार्टीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको दाबी गर्दै प्रत्यक्षतर्फ एमालेभन्दा बढी सिट जित्ने अवस्था बनिसकेको बताएका थिए। उनले नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी तयारीमा जुट्न र आधिकारिक उम्मेदवारको जित सुनिश्चित गर्न निर्देशनसमेत दिए।
बैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि विभिन्न दल र नेताहरूसँग संवाद भइरहेको स्वीकार गरे, तर चुनावी मैदानमा भने नेकपा एक्लै उत्रने दोहोर्याए। “राजनीतिमा छलफल र संवाद भइरहन्छ, तर हामी आफ्नै शक्ति र उत्साहका साथ चुनाव जित्छौं,” उनले भने।
बिहान ८ बजेदेखि करिब एक घण्टा चलेको उक्त भर्चुअल बैठकमा पार्टीका केन्द्रीय तहका नेताहरूको सहभागिता रहेको बताइएको छ।






