जेठ १५ मा बजेट आउँदै, संसद् परिसरमा उच्च तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। शुक्रबार जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
बजेट प्रस्तुत हुनुअघि अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेल लाई शीतलनिवास पुगेर बजेटका प्राथमिकता र तयारीबारे जानकारी गराएका छन्। राष्ट्रपति कार्यालयमा भएको भेटलाई संवैधानिक प्रक्रियाअन्तर्गतको नियमित तयारीका रूपमा हेरिएको छ।
यस वर्षको बजेट सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा नभई बहुउद्देश्यीय हलबाट प्रस्तुत गरिने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा कक्षको अन्तिम निर्माण तथा सजावटको काम पूरा नभएकाले संयुक्त बैठक त्यहाँ सञ्चालन गर्न सम्भव नभएको हो।
संसद् सचिवालयले संयुक्त बैठकका लागि सुरक्षा, बसाइ व्यवस्थापन र प्राविधिक तयारी पूरा भएको जनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समयअघि नै उपस्थित हुन आग्रह गरिएको छ।
सरकारले यसपटकको बजेटलाई आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी विस्तार र सुशासन केन्द्रित बनाउने संकेत दिएको छ। राष्ट्रिय योजना आयोगले करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तय गरे पनि अन्तिम आकारमा केही हेरफेर हुन सक्ने अनुमान गरिएको छ।
स्थान अभावका कारण यसपटक संयुक्त बैठकमा संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा नगरिएको संसद् सचिवालयले जनाएको छ।
नयाँ राजनीतिक समीकरणपछि आउन लागेको पहिलो पूर्ण बजेट भएकाले यसलाई अर्थतन्त्र सुधारको ‘रोडम्याप’का रूपमा समेत हेरिएको छ। व्यवसायी, कर्मचारी, किसानदेखि सर्वसाधारणसम्म बजेटले दिने राहत र प्राथमिकतालाई लिएर प्रतीक्षामा छन्।

Leave a Comment