कात्तिक १७, काठमाडौं ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको समूहले नेता डा. शेखर कोइरालालाई त्यसको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ।
सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेको टोलीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश नपाएको गुनासो गर्दै विशेष महाधिवेशनका लागि अग्रसर हुन आग्रह गरेको हो।
नेता मनोजमणि आचार्यका अनुसार, कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने, अन्यथा केन्द्रीय समितिले आफैं विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
उनका अनुसार कोइरालाले भने, “म पार्टीलाई एक बनाउन चाहन्छु। दुई वटा प्रस्ताव आउनुहुँदैन, एउटै प्रस्तावबाट अघि बढ्नुपर्छ।”
भेटमा सहभागी गुरूराज घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र कोइरालालाई भेट्ने योजनाअनुसार टोली गएको बताए। उनले कोइरालाको धारणा उद्धृत गर्दै भने, “चार वर्षे कार्यकालभित्रै नियमित महाधिवेशन गर्नुपर्छ, नभए विशेष महाधिवेशन केन्द्रीय समितिले आफैं बोलाउनुपर्छ।”
यसअघि शनिबार हस्ताक्षरकर्ताहरूले कार्यवाहक सभापति खड्कासँग पनि छलफल गरेका थिए। घिमिरेका अनुसार, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत टोलीलाई भेटी पार्टीभित्रका पछिल्ला गतिविधिबारे जानकारी दिएका थिए।



Leave a Reply