काठमाडौं, असार २१ — हर्मुज स्ट्रेटमा सैन्य उपस्थिति बढाउने बेलायत र फ्रान्सको घोषणाप्रति इरानले कडा आपत्ति जनाउँदै यस क्षेत्रलाई शक्ति प्रदर्शनको थलो नबनाउन चेतावनी दिएको छ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले बेलायत र फ्रान्सको संयुक्त निर्णयप्रति प्रतिक्रिया दिँदै हर्मुज स्ट्रेटको सुरक्षा तटीय राष्ट्रहरूको जिम्मेवारी भएको र बाह्य शक्तिको सैन्य गतिविधि स्वीकार्य नहुने बताएका छन्।
बेलायत र फ्रान्सले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा हर्मुज स्ट्रेटलाई विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्गको रूपमा उल्लेख गर्दै जहाजहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्न सैन्य बल परिचालन गर्ने जानकारी दिएका थिए। दुवै देशले ओमानसहित क्षेत्रीय साझेदारसँग सहकार्य गरेर समुद्री सुरक्षालाई थप मजबुत बनाउने पनि बताएका छन्।
यसको जवाफमा घरिबाबादीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत हर्मुज स्ट्रेट क्षेत्रबाहिरका शक्तिहरूको सैन्य प्रदर्शनको स्थान नभएको उल्लेख गर्दै इरान उक्त जलमार्गको सुरक्षाप्रति प्रतिबद्ध रहेको दाबी गरेका छन्। उनले कुनै पनि उक्साहटपूर्ण गतिविधिको परिणाम सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन्।
यसअघि ब्लुमबर्गले केही युरोपेली मुलुकहरू हर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षाका लागि इरान र ओमानलाई शुल्क तिर्ने व्यवस्थामा सहमत भएको दाबी गरेको थियो। पछिल्लो घटनाक्रमले मध्यपूर्वको संवेदनशील समुद्री क्षेत्रमा थप कूटनीतिक तनाव सिर्जना हुने संकेत देखिएको छ।
हर्मुज स्ट्रेटमा सैन्य तैनाथीको घोषणापछि बेलायत र फ्रान्सलाई इरानको कडा चेतावनी
Leave a Comment
Leave a Comment






