काठमाडौं, जेठ २० — मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव नयाँ चरणमा प्रवेश गरेको छ। दुवै देशले एकअर्काविरुद्ध सैन्य कारबाही गरेको दाबी गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाको पाँचौँ फ्लिट मुख्यालय र एक सैन्य एयरबेसलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले अमेरिकाले आफ्ना दूरसञ्चार संरचना र तेल ट्यांकरमाथि हमला गरेपछि प्रतिकारात्मक कारबाही गरिएको दाबी गरेको छ।
तर अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका अधिकांश मिसाइल र ड्रोन आक्रमण असफल भएको बताएको छ। सेन्टकमका अनुसार कुवेत र बहराइनतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू लक्ष्यमा पुग्नुअघि नै नष्ट गरिएका थिए भने अमेरिकी सैन्य संरचनामा कुनै क्षति पुगेको छैन।
तनावका बीच अमेरिकाले होर्मुज जलडमरूमध्यमा इरानतर्फ गइरहेको एक तेल ट्यांकरमाथि हेलफायर मिसाइल प्रहार गरेको स्वीकार गरेको छ। अमेरिकी पक्षले जहाजलाई पटक–पटक चेतावनी दिँदा अटेर गरेपछि कारबाही गरिएको जनाएको छ।
अमेरिकाले इरानी बन्दरगाहतर्फ जाने तथा त्यहाँबाट फर्किने जहाजमाथि निगरानी र नाकाबन्दी कडा बनाएको बताएको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार हालसम्म दर्जनौँ जहाजलाई मार्ग परिवर्तन गराइएको छ भने केही जहाजलाई निष्क्रियसमेत पारिएको छ।
यता इरानले आफ्नो सुरक्षा र हितमाथि आक्रमण भए अझ कडा जवाफ दिने चेतावनी दिएको छ। दुवै पक्षका आरोप–प्रत्यारोप र सैन्य गतिविधिले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने सम्भावना बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
अहिलेसम्म दुवै पक्षका दाबीहरूको स्वतन्त्र पुष्टि हुन नसके पनि पछिल्ला घटनाक्रमले अमेरिका–इरान सम्बन्ध फेरि एकपटक टकरावको खतरनाक मोडमा पुगेको संकेत गरेका छन्।
अमेरिका–इरानबीच सैन्य तनाव उत्कर्षमा, मिसाइल आक्रमण र तेल ट्यांकर विवादले बढायो संकट
Leave a Comment
Leave a Comment






