संविधान संशोधनबारे पूर्वराष्ट्रपतिद्वयसँग कार्यदलको परामर्श

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २१ — संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने उद्देश्यले गठित कार्यदलले पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुझाव संकलन गरेको छ।
कार्यदलले दुवै पूर्वराष्ट्रपतिका निवासमा पुगेर संविधान संशोधनका सम्भावित विषय, राष्ट्रिय सहमति, लोकतान्त्रिक मूल्य–मान्यता तथा प्रणाली सुधारका विषयमा छलफल गरेको जनाएको छ।
भेटका क्रममा रामवरण यादवले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सकेसम्म व्यापक राजनीतिक सहमति कायम गर्नुपर्ने धारणा राखेका छन्। उनले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी प्रतिनिधित्वजस्ता संविधानका आधारभूत विशेषताहरूलाई जोगाउँदै समयानुकूल सुधारका विषयमा छलफल अघि बढाउन सुझाव दिएका छन्।
त्यसैगरी विद्यादेवी भण्डारीले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताएकी छन्। उनले संविधानमा सुनिश्चित गरिएको महिला सहभागिता, समावेशी व्यवस्था तथा संस्थागत उपलब्धिहरूलाई थप प्रभावकारी बनाउने दिशामा ध्यान दिन आग्रह गरिन्।
भण्डारीले राजदूत नियुक्ति तथा फिर्तासम्बन्धी अभ्यासमा पनि पुनर्विचार आवश्यक रहेको उल्लेख गर्दै विभिन्न संवैधानिक आयोगहरूको कार्यसम्पादन र उपयोगिताबारे पुनर्मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
कार्यदलले पूर्वराष्ट्रपतिद्वयबाट प्राप्त सुझावलाई बहसपत्र निर्माण प्रक्रियामा समेटिने जनाएको छ। साथै आगामी चरणमा पूर्वप्रधानमन्त्रीहरू तथा अन्य सरोकारवालासँग पनि परामर्शलाई निरन्तरता दिइने बताइएको छ।

Leave a Comment