केन्द्रीय आन्दोलनमै बारा शाखा निष्क्रिय, नेतृत्वको क्षमतामाथि प्रश्न

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया, २७ जेठ — नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले सरकारी विज्ञापन तथा सार्वजनिक सूचना वितरणसम्बन्धी सरकारले गरेको भनिएको विभेदकारी निर्णयविरुद्ध बुधबार देशव्यापी धर्ना कार्यक्रम सञ्चालन गर्दा बारा शाखा भने सहभागिताविहीन बनेको छ। देशभर ७६ जिल्लामा कार्यक्रम सम्पन्न भइरहँदा बारामा कार्यक्रम हुन नसकेपछि शाखा नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठेको छ।
महासंघको केन्द्रीय सर्कुलरअनुसार जिल्ला प्रशासन कार्यालयअगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा पत्रकारहरूले सरकारी विज्ञापन तथा सूचना वितरणमा समान व्यवहार, प्रेस स्वतन्त्रताको सम्मान र सञ्चारमाध्यममाथि हुने विभेद अन्त्यको माग गरेका थिए।
तर बारा शाखाका पदाधिकारीहरू नै कार्यक्रमबारे अनभिज्ञ रहेको तथ्य बाहिर आएको छ। शाखाका सचिव पुष्प खतिवडाले आफू जिल्ला बाहिर रहेकाले कार्यक्रमबारे जानकारी नभएको बताए। यस्तै उपाध्यक्ष पानालाल दासले पनि आफूलाई केन्द्रीय कार्यक्रमबारे कुनै जानकारी नगराइएको दाबी गरे।
उपाध्यक्ष दासले अध्यक्ष हुँदाहुँदै उपाध्यक्षको हैसियतमा स्वतः कार्यक्रम गर्न नमिल्ने बताउँदै देशभर महासंघको आन्दोलन चलिरहेका बेला बारामा कार्यक्रम हुन नसक्नु दुःखद भएको प्रतिक्रिया दिए। उनले केन्द्रीय कार्यक्रमअनुसार सबै जिल्लामा आन्दोलन भइरहँदा बारा शाखा निष्क्रिय रहनुले नेतृत्वको जिम्मेवारी र नैतिकतामाथि प्रश्न उठाएको बताए।
देशभर सञ्चालित आन्दोलनका क्रममा पर्सा, रौतहटलगायत अधिकांश जिल्लामा पत्रकारहरूले धर्ना दिँदै सरकारी विज्ञापन वितरणलाई नियन्त्रणको माध्यम बनाउन खोजिए लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पर्ने चेतावनी दिएका थिए।
राष्ट्रिय मुद्दामा महासंघले देशव्यापी आन्दोलन गरिरहेका बेला बारा शाखाले कार्यक्रम सञ्चालन गर्न नसक्नुले शाखाको आन्तरिक समन्वय, नेतृत्व क्षमता र संगठन सञ्चालन शैलीबारे गम्भीर बहस सुरु भएको छ। पत्रकार वृत्तमा समेत केन्द्रीय कार्यक्रम कार्यान्वयन गर्न नसक्ने नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको देखिएको छ।

 

Leave a Comment