काठमाडौं, २८ जेठ । अमेरिका र इरानबीचको सैन्य तनाव थप उग्र बनेको छ। अमेरिकी सेनाले लगातार दोस्रो दिन इरानका विभिन्न सैन्य तथा निगरानी केन्द्रलाई लक्षित गर्दै हवाई आक्रमण गरेपछि इरानले रणनीतिक महत्वको होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको दक्षिणी क्षेत्रमा रहेका महत्वपूर्ण सैन्य संरचनामाथि कारबाही जारी छ। अमेरिकी रक्षा मन्त्रालयले इरानले वार्ताको अवसर उपयोग नगरेपछि सैन्य विकल्प अपनाउनुपरेको जनाएको छ।
आक्रमणको जवाफस्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्ग क्षेत्रमा सुरक्षा जोखिम बढेको भन्दै सबै प्रकारका जहाजको आवागमन रोक्ने घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र प्रवेश गर्ने जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिएको छ।
यद्यपि अमेरिकी पक्षले भने जलमार्ग पूर्ण रूपमा बन्द नभएको दाबी गर्दै व्यापारिक जहाजहरूको आवतजावत जारी रहेको जनाएको छ। दुवै देशका परस्पर विरोधी दाबीका बीच खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ।
तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने भएकाले यसको प्रभाव विश्वव्यापी अर्थतन्त्रमा समेत पर्ने विश्लेषण गरिएको छ।
यसैबीच इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै प्रतिआक्रमण गरेको दाबी गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
दुवै देश आ–आफ्नो अडानमा कायम रहँदा मध्यपूर्वमा व्यापक द्वन्द्वको जोखिम बढेको अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ। :::
अमेरिका–इरान तनाव थप चर्कियो, होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा
Leave a Comment
Leave a Comment






