जेनजी प्रदर्शनबारे दाबी–उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३० कात्तिक, काठमाडौं ।
जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएपछि प्रहरी हिरासतमा दुर्व्यवहार र यातना गरिएको दाबी आएपछि राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित हिरासतहरूको अनुगमन गरेको छ। आयोगले गत विहीबार र शुक्रबार राजधानीका विभिन्न हिरासत निरीक्षण गरेको जनाएको छ। अनुगमन प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन।

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार अनुगमन टोलीले के–कस्ता तथ्यहरू पत्ता लगायो भन्ने विवरण आज बुझिनेछ।

गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा व्यापक हिंसात्मक घटना भएका थिए। सो घटनामा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, विभिन्न प्रहरी कार्यालयलगायत सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएका थिए।

हिंसामा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउ प्रक्रियालाई प्रहरीले जारी राखेको छ। पक्राउ परेकासम्बन्धी यातना र दुर्व्यवहारका उजुरी आएपछि आयोगले विशेष चासोका साथ अनुगमन अघि बढाएको जनाएको छ।

आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान अघि बढाइरहेको छ। साथै, त्यस्ता घटनासम्बन्धी भिडियो, कागजात वा अन्य प्रमाण रहेका व्यक्तिहरूलाई आयोगमा बुझाइदिन अनुरोध गरिएको छ।

Leave a comment