हुलाकमार्फत ६ हजारभन्दा बढी राहदानी र ११ सय लाइसेन्स घरमै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार २० — सरकारले हुलाक सेवालाई आधुनिक र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत राहदानी, सवारी चालक अनुमतिपत्र तथा अन्य सरकारी कागजात घरदैलोमै पुर्‍याउने सेवा विस्तार गरेको छ। हालसम्म ६ हजार २९३ वटा राहदानी र १ हजार ९३ वटा सवारी चालक अनुमतिपत्र सेवाग्राहीको घरमै वितरण गरिएको छ।
हुलाक सेवा विभागका अनुसार सरकार गठनपछि असार १९ गतेसम्म देशका ७५ जिल्लामा २ लाख ७ हजार ८३४ वटा राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। हुम्ला र भोजपुरमा पनि यो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ४४ वटा सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात कार्यालयमा हुलाकमार्फत पुर्‍याइएको छ। कास्की, मोरङ, बाँके, पर्सा, सुनसरी, कालिकोट र बझाङलगायत जिल्लामा घरदैलो वितरण सेवा सुरु भइसकेको छ भने अन्य जिल्लामा पनि विस्तारको प्रक्रिया अघि बढाइएको छ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार नागरिकलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राहदानी, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात हुलाकमार्फत घरमै पुर्‍याउने व्यवस्था लागू गरिएको हो।
विभागले हुलाक सेवाको आधुनिकीकरणका लागि डाँक मार्ग पुनर्संरचना, सात अङ्कीय हुलाक सङ्केत प्रणाली लागू, आन्तरिक निगरानी प्रणाली स्तरोन्नति तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार सेवा सुधारका कामलाई पनि अघि बढाएको जनाएको छ।
नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक प्रमाणपत्र घरमै पुर्‍याउने सेवा सुरु भइसकेको छ भने हालसम्म त्रिभुवन विश्वविद्यालयका २६३ वटा प्रमाणपत्र पनि हुलाकमार्फत सम्बन्धित व्यक्तिसम्म पुर्‍याइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ प्रयोगशाला नमूना, स्वास्थ्य सामग्री तथा जनचेतनामूलक सामग्री देशका विभिन्न जिल्लामा हुलाकमार्फत ढुवानी गरिएको छ। साथै देशभरका ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने योजना कार्यान्वयनमा रहेको विभागले जनाएको छ।

Leave a Comment