काठमाडौं, असार २२ — इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहमा लाखौँ मानिस सहभागी भएका छन्। राजधानी तेहरानमा सुरु भएको अन्त्येष्टिका क्रममा अमेरिका र इजरायलविरुद्ध चर्का नाराबाजी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
छ दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रमको पहिलो दिनदेखि नै तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला परिसरमा श्रद्धाञ्जली दिन ठूलो जनसागर उर्लिएको थियो। खामेनीसँगै आक्रमणमा ज्यान गुमाएका उनका परिवारका सदस्यहरूको पार्थिव शरीर पनि इरानी राष्ट्रिय झण्डाले ढाकेर सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो।
अन्त्येष्टिमा सहभागी भीडले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नाराबाजी गर्दै बदलाको माग गरेका पोस्टर प्रदर्शन गरेका थिए। इरानी अधिकारीहरूले यो हालसम्मकै सबैभन्दा ठूलो जनसहभागिता हुन सक्ने दाबी गर्दै पूरै अन्त्येष्टि अवधिभर करिब डेढदेखि दुई करोड मानिस सहभागी हुन सक्ने अनुमान गरेका छन्।
कार्यक्रमअनुसार खामेनीको अन्तिम यात्रा तेहरानबाट सुरु भई इरानका विभिन्न धार्मिक सहर हुँदै अन्ततः मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिनेछ। उक्त स्थान शिया मुस्लिम समुदायका लागि अत्यन्त पवित्र धार्मिकस्थल मानिन्छ।
यसबीच इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्ता तत्कालका लागि स्थगित गरेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णय पनि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मानवीय आधारमा अन्त्येष्टि सम्पन्न गर्न इरानलाई एक साताको समय दिइएको दाबी गरेका छन्। सो अवधि सकिएपछि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्नुपर्ने उनको भनाइ रहेको छ।
खामेनीको निधनपछि इरानले आफ्नो सुरक्षा तथा सैन्य रणनीतिमा व्यापक परिवर्तन गर्ने संकेत दिएको छ। नयाँ नेतृत्वले क्षेत्रीय सुरक्षा नीतिलाई थप आक्रामक बनाउने तयारी गरिरहेको विश्लेषण सार्वजनिक भइरहेका छन्। विशेषगरी होर्मुज जलडमरूमध्यलाई रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ।
खामेनीको अन्त्येष्टिमा लाखौँ सहभागी, अमेरिका र इजरायलविरुद्ध चर्कियो विरोध
Leave a Comment
Leave a Comment






