इन्टरनेट बन्द भए पनि इरानमा आन्दोलन चर्कियो, दर्जनौँको मृत्यु र हजारौँ पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

दुबई, २५ पुस २०८२ — इरान सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सेवा बन्द गरेपछि आन्दोलन कमजोर हुने अपेक्षा गरे पनि उल्टै राजधानी तेहरानसहित देशका विभिन्न सहरमा विरोध प्रदर्शन झनै उग्र बनेको छ ।

निर्वासित युवराज रेजा पहलवीको आह्वानपछि शुक्रबार हजारौँ नागरिक सडकमा उत्रिए । प्रदर्शनपछि तेहरान र अन्य सहरका सडकमा आगजनी र तोडफोडका अवशेष देखिएका छन् । सामाजिक सञ्जाल बन्द भए पनि बाहिर पठाइएका छोटा भिडियोहरूमा प्रदर्शनकारीहरूले आगो बाल्दै इस्लामिक शासनविरुद्ध नारा लगाएको देखिन्छ ।

लामो समय मौन रहेको इरानी राज्य टेलिभिजनले शुक्रबार पहिलो पटक प्रतिक्रिया दिँदै आन्दोलन हिंसात्मक बनेको र हताहत भएको दाबी गरेको छ । तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन । राज्य सञ्चारमाध्यमले अमेरिका र इजरायल समर्थित ‘आतङ्कवादी एजेन्ट’ ले हिंसा भड्काएको आरोप लगाएका छन् ।

सञ्चार सेवा अवरुद्ध रहेकाले आन्दोलनको वास्तविक फैलावट तुरुन्त पुष्टि गर्न कठिन भएको छ । तर कमजोर अर्थतन्त्र, चर्को महँगी र बेरोजगारीले थलिएको अवस्थामा सुरु भएको यो आन्दोलन पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो चुनौती बनेको विश्लेषकहरूको भनाइ छ ।

यो आन्दोलनलाई निर्वासित युवराज पहलवीप्रति जनसमर्थनको पहिलो ठूलो परीक्षा पनि मानिएको छ । उनका पिता सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि देश छाड्न बाध्य भएका थिए । पछिल्ला दिनमा प्रदर्शनस्थलमा शाहको समर्थनमा नाराबाजी सुनिनु जनआक्रोशको गहिराइको संकेतका रूपमा हेरिएको छ ।

अमेरिकास्थित मानव अधिकार निगरानी समूहका अनुसार झडप र सरकारी दमनमा हालसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने दुई हजार २७० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको छ ।

युवराज पहलवीले बिहीबार र शुक्रबार साँझ पुनः सडकमा उत्रिन आह्वान गर्दै इन्टरनेट बन्दलाई जनताको आवाज दबाउने प्रयासको संज्ञा दिएका छन् । उनले युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीमाथि हिंसा भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । प्रतिबन्ध, क्षेत्रीय द्वन्द्व र कमजोर मुद्राका कारण इरानको अर्थतन्त्र गहिरो सङ्कटमा रहेको अवस्थामा सुरु भएको यो आन्दोलनले आगामी दिनमा देशको राजनीतिक दिशा नै परिवर्तन गर्न सक्ने संकेत देखिएको छ ।

Leave a Comment