कैलाली, असार २५ — सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख गर्दै दिएको अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको भिडियो व्यापक रूपमा भाइरल भएपछि प्रहरी नेतृत्वले सामान्य सोधपुछ तथा पेशागत आचरणसम्बन्धी परामर्शका लागि उनलाई जिल्ला तानेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीलाई कुनै कारबाहीका लागि नभई संगठनको आन्तरिक प्रक्रियाअन्तर्गत बोलाइएको हो। उनले प्रहरी कर्मचारीले सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदा पेशागत मर्यादा कायम गर्नुपर्ने भएकाले आवश्यक काउन्सिलिङका लागि बोलाइएको बताए।
लागुऔषध दुव्र्यसनविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले, “हामी बालेनका पुलिस होइनौँ, नेपाल पुलिस हौँ। अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस हौँ,” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसक्रममा उनले “केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो” भन्ने टिप्पणीसमेत गरेका थिए।
उनको भनाइपछि कार्यक्रममा उपस्थित विद्यार्थीहरूले ताली बजाएको दृश्य भिडियोमा देखिन्छ। भिडियोमा उनले उक्त रेकर्डिङ सार्वजनिक नगर्न आग्रह गरेको आवाजसमेत सुनिन्छ। तर पछि सोही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा सुरु भएको हो।
कार्यक्रममा डीएसपी चौधरीले आफू प्रतिस्पर्धात्मक परीक्षाबाट २०७० सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन कुनै राजनीतिक व्यक्ति वा दलको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने संस्था भएको धारणा व्यक्त गरेका थिए।
भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक आन्तरिक प्रक्रिया अघि बढाएको जनाएको छ।
बालेन र केपी ओलीको नाम जोडेर अभिव्यक्ति दिएका डीएसपी चौधरी जिल्ला तानिए
Leave a Comment
Leave a Comment






