मन्त्रिपरिषद्का महत्त्वपूर्ण निर्णय सार्वजनिक, मुख्यसचिवदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ व्यवस्था

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २४ — सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रशासन, शिक्षा, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ। साथै सुरज शाक्यलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गरिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान एवं खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यसबाट सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ। त्यस्तै शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ पनि पारित गरिएको छ। यी नियमावलीले विदेश अध्ययनसँग सम्बन्धित सेवा तथा संस्थाहरूलाई थप व्यवस्थित र नियमन गर्ने विश्वास गरिएको छ।
त्यसैगरी बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) तथा भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) समेत स्वीकृत गरेको छ।
सरकारका अनुसार यी निर्णयहरू सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने तथा सुशासन, मानव अधिकारको संरक्षण र भ्रष्टाचार नियन्त्रणलाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको हो।

Leave a Comment