ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर हस्तक्षेप गरेको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको दाबी गर्दै त्यसबारे विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन्। साथै, यससँग सम्बन्धित गोप्य गुप्तचर दस्ताबेज सार्वजनिक गरिने घोषणा पनि गरेका छन्।
ह्वाइट हाउसमा बिहीबार आयोजित सम्बोधनमा ट्रम्पले चीनले सन् २०२० को निर्वाचनसँग सम्बन्धित करिब २२ करोड अमेरिकी मतदाताको अभिलेखमा पहुँच बनाएको आरोप लगाए। उनका अनुसार यो अमेरिकी निर्वाचन इतिहासकै सबैभन्दा ठूलो साइबर हस्तक्षेप हुन सक्छ।
ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक र संघीय अनुसन्धान ब्युरो (एफबीआई) लाई घटनाबारे अनुसन्धान गरी डाटा चुहावटको वास्तविक अवस्था पत्ता लगाउन निर्देशन दिएको जानकारी दिए।
उनले यस घटनाले अमेरिकी निर्वाचन प्रणालीमा गम्भीर सुरक्षा कमजोरी रहेको देखाएको दाबी गर्दै निर्वाचनलाई सुरक्षित बनाउन ‘सेभ अमेरिका एक्ट’ पारित गर्न अमेरिकी कंग्रेससँग पुनः आग्रह गरे। उक्त कानुन लागू भए देशभर मतदाता परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरिने प्रस्ताव छ।
सम्बोधनका क्रममा ट्रम्पले आफ्नो भाषण प्रत्यक्ष प्रसारण नगरेका केही टेलिभिजन नेटवर्कको पनि आलोचना गरे। उनले त्यस्ता सञ्चारमाध्यमको प्रसारण इजाजतपत्रसमेत खारेज गरिनुपर्ने टिप्पणी गरे।
एबीसी र एनबीसीले ट्रम्पको सम्बोधन आफ्ना मुख्य टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण नगरी स्ट्रिमिङमार्फत मात्र उपलब्ध गराएका थिए भने सीएनएनले प्रत्यक्ष प्रसारण गरेको थियो।
यसैबीच, ह्वाइट हाउसले निर्वाचन हस्तक्षेपसम्बन्धी दाबीसँग सम्बन्धित केही दस्ताबेज आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको जनाएको छ। ट्रम्पको घोषणापछि अमेरिकामा निर्वाचन सुरक्षा र वैदेशिक साइबर हस्तक्षेपबारे बहस थप चर्किने अनुमान गरिएको छ।

Leave a Comment