नयाँ सांसदलाई रास्वपाको अभिमुखीकरण: ‘पदको गरिमा बढाउन मिहिनेत गर’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

३ चैत २०८२, काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय आचरण, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिन अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। काठमाडौंको ग्वार्कोस्थित एक होटलमा आयोजित कार्यक्रममा प्रत्यक्ष र समानुपातिक गरी १८२ सांसद सहभागी छन्।

पार्टीले पहिलो पटक ठूलो दल बनेपछि सांसदहरूलाई संसदमा कसरी प्रस्तुत हुने, कसरी बोल्ने, कस्तो आचरण अपनाउने भन्नेबारे सिकाउन यो कार्यक्रम आयोजना गरेको हो।

अभिमुखीकरणमा सहभागी सांसदहरूले यसलाई उपयोगी अनुभवका रूपमा लिएका छन्। उनीहरूका अनुसार कार्यक्रममा एक अर्कासँग परिचित हुने, संसदीय अभ्यास बुझ्ने र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा छलफल भएको छ।

मोरङ–६ बाट निर्वाचित सांसद रुबिना आचार्यले कार्यक्रमले एक अर्कालाई चिन्ने र अनुभव साटासाट गर्ने अवसर दिएको बताइन्। त्यस्तै, सर्लाही–१ बाट निर्वाचित नितिमा कार्कीले सांसदको भूमिका, बोल्ने तरिका र जनतासँग गरिने वाचा सम्बन्धी विषयमा जानकारी पाएको उल्लेख गरिन्।

धादिङ–१ बाट निर्वाचित आसिका तामाङले संसदमा आवाज उठाउने मात्र नभई न्याय सुनिश्चित गर्ने दायित्वबारे पनि छलफल भएको बताइन्। गोरखा–१ का सांसद सुधन गुरुङले नयाँ पुस्ताले प्रणाली सुधारको जिम्मेवारी लिनुपर्ने धारणा राखे।

कार्यक्रममा पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सांसदहरूलाई पदको गरिमा कायम राख्दै जिम्मेवार रूपमा काम गर्न निर्देशन दिए। उनले संविधानप्रति बफादार रहन र कानुन तथा पार्टीको घोषणापत्रको गहिरो अध्ययन गर्न आग्रह गरे।

उनका अनुसार सांसदको जीवनशैली, व्यवहार, सम्पत्ति विवरणदेखि सार्वजनिक प्रस्तुतीकरणसम्म सबै पक्षले जनविश्वास निर्माणमा प्रभाव पार्छ। व्यक्तिगत समस्या समाधानभन्दा प्रणाली सुधारमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

त्यस्तै, उपसभापति डोलप्रसाद अर्यालले जनताको अपेक्षा अनुसार काम गर्न र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सांसदहरूलाई आग्रह गरे। उनले देशमा सुशासन स्थापित गर्दै विदेशिएका नेपालीलाई फर्किन सक्ने वातावरण बनाउनुपर्ने बताए।

अभिमुखीकरण कार्यक्रममा संसदीय प्रक्रिया, विधायन निर्माण, बजेट प्रणाली, संसदीय समितिको भूमिका र निर्वाचन क्षेत्रमा जनतासँग सम्बन्ध सुदृढ गर्ने विषयमा विज्ञहरूले प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रम उद्घाटन सत्रमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित नभए पनि उनीहरूलाई आगामी सत्रमा सहभागी गराउने तयारी रहेको पार्टीले जनाएको छ।

रास्वपाले यस कार्यक्रममार्फत नयाँ सांसदहरूलाई अनुशासित, जिम्मेवार र परिणाममुखी बनाउने लक्ष्य लिएको छ।

Leave a Comment