२२ कात्तिक, काठमाडौं ।
टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ अधिकारीहरू विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। गाजा क्षेत्रमा गरिएको भनिएको नरसंहार र मानवताविरुद्धका अपराध का आरोपमा वारेन्ट जारी गरिएको हो।
एएफपीका अनुसार, टर्कियाको इस्तान्बुल अभियोजक कार्यालयले कुल ३७ जनाविरुद्ध वारेन्ट जारी गरेको जनाएको छ, तर सबैको नाम सार्वजनिक गरिएको छैन। बीबीसीका अनुसार वारेन्ट जारी हुने प्रमुख व्यक्तिहरूमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिर पनि समावेश छन्।
टर्किये सरकारले इजरायलमाथि गाजामा ‘व्यवस्थित जनसंहार’ गरेको आरोप लगाएको छ। सरकारका अनुसार गाजामा गरिएको सैन्य कारवाहीले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको छ।
यस घटनाप्रति इजरायलले कडा प्रतिक्रिया दिएको छ। इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कीको निर्णयको निन्दा गर्दै भने, “यो तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको नयाँ प्रचारात्मक नाटक (पीआर शायरी) मात्र हो।”
टर्कियाको यो कदम पछिल्ला महिनामा गाजाको युद्धमा इजरायलविरुद्ध बढ्दो अन्तर्राष्ट्रिय आलोचनाको पृष्ठभूमिमा आएको हो।



Leave a Reply