काठमाडौं — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको व्यावसायिक अधिकारसँग सम्बन्धित निजी लगानी योजनामा प्रक्रियागत कमजोरी भएको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। तर, उनले आफूले अध्यक्ष पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।
मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो निर्णयले विवाद सिर्जना गरेको स्वीकार गरेका हुन्। बैठकपछि जारी विज्ञप्तिमा फिफा व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति पूर्ण विश्वास कायम रहेको र उनको नेतृत्वलाई निरन्तर समर्थन गर्ने जनाएको छ।
प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यसहित अघि सारिएको ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ प्रस्तावलाई पारदर्शी प्रक्रिया नअपनाइएको भन्दै युरोपेली फुटबल महासंघ (युइएफए) लगायतका निकायले कडा आलोचना गरेका छन्। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले पनि घटनाक्रमलाई दुर्भाग्यपूर्ण भन्दै टिप्पणी गरेका थिए।
पछि इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य संघलाई पत्र पठाएर प्रक्रियागत त्रुटिप्रति क्षमा मागेका छन्। उनीहरूले भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
विवादित प्रस्तावअन्तर्गत पुरुष तथा महिला विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी आकर्षित गर्ने योजनाको समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराइने आश्वासन दिइएको थियो। तर, प्रस्तावबारे फिफा काउन्सिल र सदस्य संघलाई पर्याप्त जानकारी नदिई निर्णय अघि बढाइएको भन्दै असन्तोष चुलिएको हो।
यसबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोप्रति विश्वास नरहेको बताएका छन् भने पूर्वपोर्चुगिज स्टार लुइस फिगोले उनको तत्काल राजीनामा माग गरेका छन्। यद्यपि, ५६ वर्षीय इन्फान्टिनो सन् २०२७ मार्चमा मोरक्कोमा हुने फिफा अध्यक्षको निर्वाचनमा चौथो कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा रहेका छन्।
गल्ती स्वीकारे पनि पद नछाड्ने अडानमा फिफा अध्यक्ष इन्फान्टिनो
Leave a Comment
Leave a Comment

