धम्की र संवाद सँगसँगै: अमेरिकासँग वार्ताको ढोका खोल्दै इरान, खाडीमा सैन्य तनाव उकालो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, १८ माघ – खाडी क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र बन्दै जाँदा इरानले भने अमेरिकासँग वार्ताको सम्भावना खुला रहेको संकेत दिएको छ। दुवै देशबीच कडा बयानबाजी भइरहेका बेला इरानका शीर्ष सुरक्षा अधिकारीले ‘संवादको आधार तयार हुँदै गएको’ बताएका हुन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै मिडियामा देखाइएजस्तो युद्धको तत्कालीन अवस्था नरहेको, बरु वार्ताका लागि संरचना निर्माणको काम अगाडि बढिरहेको बताएका छन्। यद्यपि सम्भावित संवाद कस्तो ढाँचामा हुनेछ भन्ने विषयमा उनले खुलाएनन्।

ट्रम्पको दोहोरो सन्देश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान अन्ततः सम्झौतातर्फ आउने विश्वास व्यक्त गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग कुराकानी भइरहेको दाबी गर्दै “सम्झौता हुन सक्छ, नहुन पनि सक्छ” भन्ने टिप्पणी गरे। साथै उनले अमेरिकी नौसैनिक शक्ति खाडी क्षेत्रमा अघि बढिरहेको उल्लेख गर्दै दबाबको संकेत पनि दिए।

पछिल्ला साताहरूमा ट्रम्पले इरानको परमाणु कार्यक्रम र आन्तरिक विरोध प्रदर्शनमाथिको दमनलाई कारण देखाउँदै सैन्य विकल्प खुला रहेको चेतावनी दोहोर्‍याउँदै आएका छन्।

समुद्री अभ्यासले चर्कियो विवाद

यसैबीच अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले होर्मुज जलडमरूमध्य नजिक गर्न लागेको नौसैनिक अभ्यासबारे चिन्ता जनाएको छ। अमेरिकी पक्षले त्यस्ता गतिविधिले क्षेत्रीय जहाज आवागमन र सुरक्षामा जोखिम बढाउन सक्ने जनाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकामाथि नै हस्तक्षेपको आरोप लगाएका छन्। उनले इरान आफ्नै समुद्री क्षेत्रमा अभ्यास गर्न स्वतन्त्र रहेको भन्दै अमेरिकाले टाढाबाट निर्देशन दिन खोज्नु विरोधाभासपूर्ण भएको बताएका छन्। अमेरिकाले सन् २०१९ मै आइआरजीसीलाई ‘आतंकवादी संगठन’ घोषणा गरेको थियो।

वार्ताका लागि सर्त

वरिष्ठ इरानी नेताहरूले अमेरिका वार्तामा आउन चाहन्छ भने सैन्य आक्रमणको भाषा बन्द गर्नुपर्ने सर्त राखेका छन्। इरानले बाह्य शक्तिको सैन्य उपस्थितिले तनाव घटाउनेभन्दा बढाउने काम गर्ने दाबी गर्दै आएको छ।

कतारको मध्यस्थता प्रयास

क्षेत्रीय अवस्था ‘अत्यन्त संवेदनशील’ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सम्भावित टकराव टार्न कूटनीतिक पहल तीव्र बनाइएको छ। यही क्रममा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरान भ्रमण गरी लारिजानीसँग भेटवार्ता गरेका छन्।

कतारले खाडी क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ। कूटनीतिक माध्यमबाट तनाव घटाउने प्रयासलाई दोहोर्‍याउँदै कतारले सम्भावित सैन्य भिडन्तको असरबाट क्षेत्रीय जनतालाई जोगाउन पहल जारी राख्ने जनाएको छ।

संवादको संकेत देखिए पनि मैदानमा सैन्य जमघट बढ्दै जानु र कडा भाषणबाजी जारी रहनुले अमेरिका–इरान सम्बन्ध अझै नाजुक मोडमै रहेको देखिन्छ।

Leave a Comment