प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, आज उम्मेदवारलाई निर्वाचन चिह्न वितरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ माघ २०८२, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ४१ दिन मात्र बाँकी रहँदा आज उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गरिँदैछ । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा भएपछि निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गर्न लागेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम नामावली प्रकाशन भएपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी दर्ता भएको थियो । माघ ७ गते उम्मेदवारीविरुद्ध दाबी–विरोधका उजुरी लिइएको थियो भने त्यसपछि मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन् ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । निर्वाचन चिह्न वितरणसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचार–प्रसारमा सक्रिय हुनेछन् ।

Leave a Comment