बारामा पत्रकारमाथि कुटपिटप्रति फोनिजको आपत्ति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, भदौ ३१ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिले बारा शाखाका सहसचिव बसन्त लामामाथि भएको कुटपिट घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
गत भदौ २९ गते साँझ बारा जिल्लाको निजगढ नगरपालिका–९ स्थित वनबाट घर फर्कँदै गरेका पत्रकार लामामाथि अज्ञात समूहले आक्रमण गरी कुटपिट गरेको महासंघले विज्ञप्ति मार्फत जनाएको हो। घटनामा गम्भीर घाइते भएका लामाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
महासंघका अध्यक्ष दुष्यन्त चौधरीले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको चौथो अंग पत्रकारितामाथि निरन्तर आक्रमण हुनु दुखद र निन्दनीय रहेको उल्लेख गरिएको छ। साथै, पत्रकार लामामाथि भएको आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्न र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
फोनिजले घटनामा संलग्न व्यक्तिलाई छिटो भन्दा छिटो पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न स्थानीय प्रशासनलाई जोडदार आग्रह समेत गरेको छन ।

Leave a Comment