१ मंसिर, बारा :बलिकालागि बिश्व प्रसिद्ध पञ्चवर्षिय गढीमाई मेला आजदेखि सुरु भएको छ ।
महागढीमाई नगरपालिकाको वडा नम्बर २ बरियापुरस्थित गढीमाई मन्दिरमा मेला शुरु भएको हो ।
बलिकालागी बिश्वमै प्रसिद्ध पञ्चबर्षीय गढीमाईको मेला हरेक पाँच बर्षमा लाग्ने गर्द्छ ।
गढीमाई मेला शुरु भएसंगै बिहानैदेखि गढीमाई मन्दिरमा पूजापाठ र दर्शन गर्न आउने भक्तजनहरुको भिड लागेको मुख्य पुजारी मंगल चौधरीले जानकारी गराए ।
मंसिर ३० गतेसम्म लाग्ने गढीमाई मेलामा यसपालि दुई करोडदेखि तीन करोडसम्म दर्शनार्थी आउने अनुमान गरिएको गढीमाई मेला व्यवस्थापन समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार, आजदेखि सुरु गढीमाई मेलामा विशेष पूजा अन्तर्गत मंसिर २३ गते अर्थात डिसेम्बर ८ तारिखमा राँगा तथा मंसिर २४ गते अर्थात डिसेम्बर ९ तारिखमा बोका बलि दिईने छ ।
गढीमाई मेलामा आउने भक्तजन र दर्शनार्थीहरुको सहजताका लागि मेला लाग्ने क्षेत्रमा निःशुल्क खानेपानी र शौचालयको प्रबन्ध मिलाइएको अध्यक्ष यादवले जानकारी दिए ।
४० वटा घुम्ती शौचालय र १ हजार अस्थायी शौचालयको व्यवस्थापन भइरहेको उनले बताए ।
यस्तै मेला क्षेत्रमा ठाँउ ठाँउमा स्वच्छ र शुद्ध खानेपानीको प्रबन्धपनि मिलाइएको नगर प्रमुख यादवले जानकारी दिए ।
यसका साथै मेला भर्न आउने भक्तजनहरुलाई बरियारपुर र आसपासका गाँउका घरघरमा सुत्ने प्रबन्धपनि मिलाइएको यादवले बताए ।
छिमेकी मुलुक भारतबाट आउने भक्तजनहरुका लागि पर्सा र बाराका हरेक भन्सार नाकामा सहजै प्रवेशको प्रबन्धपनि संघीय सरकारको सहयोगमा मिलाईएको उनले बताए ।
भारतबाट आउने भक्तजनहरुलाई नाकामा सहज प्रवेशका लागि मोटरसाइकल र साना चार पाङ्ग्रे गाडी भन्सार नाकामा इन्ट्रीमात्र गराएर आउन सक्ने तथा ठुला गाडीका हकमा भने भन्सार दस्तुर तिरेर आउन पाइने प्रबन्ध मिलाइएको यादवले बताए ।
यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिदैं उनले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्रपनि रााखिने बताए ।